खार्तूम, २२ चैत: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल कोषले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिअनुसार सुडानमा सन् २०२३ देखि सुरु भएको द्वन्द्वपछि स्वास्थ्य सेवा केन्द्रहरूमा भएका २१४ आक्रमणमा कम्तीमा दुई हजार ४२ जनाको मृत्यु भएको छ भने ७८५ जना घाइते भएका छन् ।
यस वर्षको पहिलो त्रैमासिकमा मात्रै १८४ जनाको मृत्यु र २९५ जना घाइते भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका यी निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा यस्ता आक्रमणको सङ्ख्या र तीव्रता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
सुडानका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि शिब्ली साहबानीले भन्नुभयो, “यस्ता आक्रमणहरूले स्वास्थ्य सेवामा पहुँचलाई अझ सीमित बनाइरहेका छन्, जबकि अहिले यसको आवश्यकता अत्यधिक छ ।” उहाँले बिरामी र स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग पनि गर्नुभयो ।
संयुक्त राष्ट्र बाल कोषका प्रतिनिधि शेल्डन येटले अस्पतालहरूमा हुने आक्रमणलाई ‘बालबालिकाको अधिकारमाथिको गम्भीर उल्लङ्घन’ भन्दै यस्ता घटनाले बालबालिकालाई अत्यावश्यक सेवा र सुरक्षाबाट वञ्चित गरिरहेको बताउनुभएको छ ।
एजेन्सीहरूले स्वास्थ्य संस्था, कर्मचारी र बिरामीमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको र यसले पहिले नै गम्भीर मानवीय सङ्कटलाई अझ जटिल बनाएको बताएका छन् । उहाँहरूले सबै पक्षलाई स्वास्थ्य सेवाको सम्मान र संरक्षण गर्न, सर्वसाधारण र सहयोगी कामदारहरूको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक सेवामा निरन्तर पहुँच उपलब्ध गराउन आग्रह गरेका छन् ।
सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसबीच जारी सङ्घर्षका कारण दशौं हजार मानिसको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन्, अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन् ।