पर्वत, २२ चैतः पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती विस्तार गरिएको छ ।
जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान चौबीस कुरियामा प्रजनन गहुँको मूल बीउको खेती गरी अनुसन्धान थालिएको छ । बीउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।
राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यलयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको हो । आत्मनिर्भरताका लागि बीउ उत्पादन कार्यक्रमअन्तर्गत बीउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिङ्कलगायतका जातमा अनुसन्धान भइरहेको राससलाई जानकारी दिनुभयो ।
स्थानीय शक्ति कृषि तथा पशुपक्षी फर्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बीउ खेती गरिरहेका हुन् । अन्य प्रजातिभन्दा गौतम र भेरीगङ्गा, हिमगङ्गा जातको गहुँको बीउ राम्रो उत्पादन भएको हो । अन्य खेतीभन्दा सजिलो खेती र सिँचाइको पहुँच पुगेको कारण यस क्षेत्रका किसानहरु हिउँदे बालीअन्तर्गत गहुँ खेतीमा लागेका हुन् ।
गत वर्ष पनि राम्रो गहुँ उत्पादन भएपछि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएपछि अहीले हावा पानी अनुकूल भएको जातको प्रजनन बीउ खेती गरिएको स्थानीय किसान रमेश चापागार्इंले बताउनुभयो ।
कृषक चापागाईंले कृषि प्राविधिक नै आफ्नै खेतवारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकहरुलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताउनुभयो । कुन भूगोलमा कुन खेती गर्दा प्रशस्त उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उहाँको भनाइ छ ।
बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभाव जस्ता कारणले कृषकको गहुँ खेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँ खेतीतर्फ आकर्षण बढ्ने उहाँको भनाइ छ । गत वर्ष गहुँका विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकामा अहिलेसम्म चार जात सिफारिसका लागि छनोट भएको उहाँले बताउनभयो ।
अनुसन्धानपछि एन एल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जातको गहुँ खेतीका लागि सिफारिसको तयारी गरेको बताउनुभयो । यी प्रजाति समुद्र सतहदेखि ८०० मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ ।