काठमाडौँ, २३ चैतः कर्णालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताको अपेक्षा र मागलाई संसद्मा उठाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
‘संवाद डबली’ले यहाँ आज आयोजना गरेको सम्मान कार्यक्रममा कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले त्यहाँका समस्या र समाधानका लागि सदन तथा सरकारको ध्यानाकर्षण गर्ने बताए । नेपाली कम्युनिष्ट पार्टीबाट कालिकोटबाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीले कर्णालीका समस्या र समाधानको उपायलाई नजिकबाट साक्षात्कार गरेको बताउँदै संसद् तथा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले आफू सङ्घीय मन्त्री र कर्णालीको मुख्यमन्त्री हुँदा पनि सकारात्मक पहल गरेको बताउनुभयो ।
सांसद शाहीले भन्नुभयो, “कर्णालीका समस्या र समाधानलाई नजिकबाट चिनेका छौँ, विगतमा सङ्घीय सरकार र प्रदेशमा केही पहल गरेका थियौँ, केही काम भएका पनि थिए र बाँकी कार्यको निरन्तरता दिन पहल गछौँ ।”
नेकपा (एमाले) बाट दैलेख क्षेत्र नं–२ बाट निर्वाचित लक्ष्मीप्रसाद पोखरेलले कर्णाली प्रदेश पिछडिएको मात्रै नभएर सम्भावनाको खानी भएको जिकिर गर्दै त्यसको उचित पहिचान हुन नसकेको बताउनुभयो । उहाँले कर्णालीका सम्भावनाको पहिचान गरी जनताको हितमा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
“कर्णाली पिछडिएको मात्रै नभएर सम्भानाको खानी पनि हो, राज्यले सम्भावनाको पहिचान गर्न सकेन, अब हामीले संसद्मा कुरा उठाउँछौँ र सरकारको ध्यानाकर्षणसँगै योजना बनाउन पहल गर्छौं”, सांसद पोखरेलले भन्नुभयो ।
नेपाली कांग्रेसका सांसद कालिबहादुर सहकारीले कर्णालीलाई सुनको थाली भन्दै त्यसको महत्व बुझ्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सुनको थालीमा नुन मागिरहेका छौँ, अब सुनको थालीमा नुन माग्ने होइन, त्यसको सम्भावनालाई जनताको हितमा उपयोग गर्नुपर्छ, त्यसका लागि म लाग्छु ।” जनताले आफूहरुसँग ठूलो अपेक्षा गरेको बताउँदै उहाँले जनताको आशा र भरोसालाई आफूले कहिलै मर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले नवनिर्वाचित सांसदहरुले कर्णालीका जनताका माग र अपेक्षालाई संसद्मार्फत सरकारसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्भावना र चुनौतिबीच नवनिर्वाचित सांसदहरुले मुख्य गरेर सडक पहुँच, कृषि आधुनिकीकरण, पर्यटन, जलविद्युत् र गरिबी घटाउने कार्यमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सांसदहरु विष्णुबहादुर खड्का (सुर्खेत–१), जयपति रोकाया (हुम्ला), खड्कबहादुर बुढा (जाजरकोट), खड्क शाही (मुगु), कालीबहादुर सहकारी (कालिकोट), महेन्द्रबहादुर शाही (कालिकोट), गोपाल शर्मा (रुकुम पश्चिम), पार्वती विक (जाजरकोट), लक्ष्मीप्रसाद पोखरेल (दैलेख–२), यसुदाकुमारी बराल (कालीकोट)लगायतलाई सम्मान गरिएको थियो ।