गलकोट (बागलुङ), २४ चैतः बागलुङमा पहिलोपटक बागलुङ बजारमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको छ । बागलुङ बजारका मुख्य चोक, पर्यटकीयस्थल, बसपार्क तथा अस्पताल क्षेत्रमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको हो । बागलुङ नगरपालिका र नेपाल विद्युत् प्राविधिकरणको साझेदारी बजेटमा उक्त सडक बत्ती जडान गरिएको हो ।
उज्यालो बागलुङ कार्यक्रमअन्तर्गत पहिलो चरणमा बागलुङ बजारको मुख्य १० स्थानमा हाइमास्ट प्रविधिको बत्ती जडान गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरप्रमुख श्रेठका अनुसार क्रमश नगरलाई नै उज्यालो बनाउने अभियानले निरन्तरता दिने उहाँको भनाइ छ ।
नगरपालिकाले उज्यालो बागलुङ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सडकमा बत्ती जडान गरिएको हो । नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणका ३५ प्रतिशत लागत साझेदारीमा हाइमास्ट प्रविधिको सडक बत्ती जडान गरिएको इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो । कूल रु ३६ लाख ८२ हजार लागतमा पहिलो चरणमा १० वटा मिटरसहितका सडक बत्ती जडान गरिएको हो ।
राजमार्ग, पहुँच सडक, वडा सिमाना सडक, रणनीतिक महत्व र व्यावसायिक चहलपहल बढी हुने क्षेत्र, मन्दिर बसपार्क र अस्पतालमा सडकमा बत्ती जडान गरिएको हो । यात्रु, बजारमा सामान खरिद गर्ने ग्राहक, विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियानअन्तर्गत बत्ती जडान गरिएको हो । बागलुङ जिल्लाकै प्रवेशद्वार मालढुङ्गा, कालिका भवगती मन्दिर प्रवेशद्वार, धौलागिरि अस्पताल, ट्राफिक चोक, चिप्लेटी बसपार्क, जिल्ला प्रशासन, बाघ चोक, अस्पताल रोड, व्यारोक चोक र बागलुङ बसपार्कमा पहिलो चरणमा स्मार्ट बत्ती जडान गरिएको हो ।
अग्लो पोलमा जडान गरिने शक्तिशाली बत्तीले बजारलाई झलमल बनाउन सहज बनाउने इन्जिनियर घर्तीले जानकारी दिनुभयो । मुख्यतया सहरका चोक, ठूला सडक, रङ्गशाला र खुला क्षेत्रहरूमा हामास्ट प्रविधियुक्त सड बत्ती प्रयोग गर्न थालिएको छ । ठूलो क्षेत्रफलमा उज्यालो प्रदान गर्दै सहरलाई आधुनिक तथा सुरक्षित बनाउन सहयोग गर्ने भएकाले बत्ती जनालाई निरन्तरता दिने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।