लुम्बिनी, २४ चैतः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गर्नुभएको छ ।
दाङको देउखुरी क्षेत्रको महत्वपुर्ण सिँचाइ आयोजना प्रगन्ना नहर सरसफाई कार्यक्रमको आज राप्ती उपत्यका(देउखुरी)मा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले किसानका वास्तविक समस्या पहिचान गरेर ती समस्या समाधानका लागि योजना बनाइरहेको जानकारी दिनुभयो ।
उहाँले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो । तरकारीखेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उहाँले सबैलाई उत्पादनमुखी बन्न आग्रह गर्नुभयो ।
‘कृषिको आधारः सिँचाइमा सुधार’भन्ने मूल नारासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले सिँचाइ सुविधा विस्तारमा सरकार दृढताका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टङ्कनाथ चौधरीले राप्ती नदीमा हुने अनियन्त्रित उत्खनन्का कारण सिँचाइ प्रणालीमा समस्या देखिएको बताउनुभयो । उक्त सिँचाइ आयोजनामार्फत हाल पाँच हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले सिँचाइ हुने क्षेत्रफल क्रमशः विस्तार हुँदै गएको जानकारी दिनुभयो ।