चैत २५, २०८२ बुधबार

काठमाडौँ, २५ चैतःहाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । 

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।

 मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।