चैत २५, २०८२ बुधबार

मुम्बई, २५ चैत : भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरीद दर अपरिवर्तित रहने जानकारी दिनुभयो ।

    आरबिआईको छ सदस्यीय मौद्रिक नीति समिति (एमपिसी) को सर्वसम्मतिले यो निर्णय गरेको हो । मल्होत्राले मौद्रिक नीति समितिले मुद्रास्फीतिको जोखिमलाई ध्यानमा राखेको तर अर्थव्यवस्थाको आधारभूत तथ्यहरूले हालको चुनौतीहरू सामना गर्न पर्याप्त लचिलोपन दिएको बताउनुभयो ।

    फेब्रुअरी २८ देखि सुरु भएको इरान युद्धले भारतीय रुपैयाँको मूल्यमा दबाब र मुद्रास्फीतिको जोखिम बढाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मङ्गलबार घोषणा गरिएको दुई हप्ताको युद्धविराम र होर्मुज स्ट्रेट पुनः खोलिने सङ्केतले इन्धनको दबाब कम गर्न र खाद्य तथा ऊर्जा आपूर्तिमा स्थिरता ल्याउने सम्भावना छ ।

    आरबिआईले पछिल्ला हप्ताहरूमा मुद्रा बजारमा सट्टेबाजी नियन्त्रण गर्न कठोर कदम चालेको छ, जसले रुपैयाँको कमजोर अवस्थालाई केही सुधार गरेको छ । नोमुरा बैंकका विश्लेषकहरूले भारतलाई मध्यपूर्व ऊर्जा मूल्यको आघात भोग्न सबैभन्दा संवेदनशील अर्थतन्त्रमध्ये एकको रूपमा मूल्याङ्कन गरेका छन् ।

    विश्लेषकहरूले फेब्रुअरीमा आरबिआईले सञ्चयी १२५ आधार अङ्कले ब्याज दर घटाएपछि, यसपटक स्थिर राख्ने निर्णय अपेक्षित भनि बताएका थिए । गभर्नर मल्होत्राले भन्नुभयो, “परिस्थितिको परिवर्तन र वृद्धि–मुद्रास्फीतिको दृष्टिकोण हेर्दै मौद्रिक नीति स्थिर राख्नु नै उचित ठहरियो ।”

    मध्यपूर्वमा आफ्नो तेल र तरलीकृत पेट्रोलियम ग्यासको ठूलो हिस्सा निर्भर रहेको भारतले यस कदममार्फत अर्थव्यवस्थामा स्थिरता कायम राख्न खोजेको छ । विश्लेषकहरूले विदेशी लगानीकर्ताहरूलाई भरोसा दिन र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता कम गर्न यस निर्णयलाई सकारात्मक मूल्याङ्कन गरेका छन् ।