बेइजिङ, २५ चैत : चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले यस बिहीबार उत्तर कोरियाको भ्रमण गर्नुहुने बेइजिङको विदेश मन्त्रालयले जनाएको छ । उहाँको भ्रमण छिमेकी देशहरूबीच रणनीतिक सम्बन्ध सुदृढ गर्ने र द्विपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आयोजना गरिएको हो ।
चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र राजनीतिक, कूटनीतिक तथा आर्थिक सहयोगको प्रमुख स्रोत हो । कोभिड–१९ महामारीपछि छ वर्षको अन्तरालपछि पहिलो पटक गत हप्ता बेइजिङ र प्योङयाङबीच प्रत्यक्ष उडान पुनः सुरु भएको छ । मार्चमा राजधानीबीच रेल सेवा पनि पुनः सञ्चालनमा आएको थियो, जसले उत्तर कोरियाले बिस्तारै खुलापन देखाएको सङ्केत दिएको छ ।
“शुक्रबारसम्म चल्ने वाङको भ्रमण चीन–उत्तर कोरिया सम्बन्धलाई कायम राख्ने र नयाँ सहयोगका अवसरहरू पहिल्याउने ‘महत्त्वपूर्ण’ कदम हो”, बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार पत्रकार सम्मेलनमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “चीन उत्तर कोरियासँग रणनीतिक संवाद बलियो बनाउन, अनुभव आदानप्रदान र सहयोग वृद्धि गर्न तथा परम्परागत मित्रवत सम्बन्धलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ ।” उहाँले उत्तर कोरियालाई ‘पहाड र नदीले जोडिएको परम्परागत मित्रवत छिमेकी’ का रूपमा वर्णन गर्नुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले फेब्रुअरीमा किम जोङ–उनलाई वर्कर्स पार्टीको नेतृत्वमा पुनः निर्वाचित भएकोमा बधाई दिँदै चीन–उत्तर कोरियाको सम्बन्धमा ‘नयाँ अध्याय’ लेख्ने उत्साह व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “विश्वले शताब्दीमा एक पटक आउने परिवर्तनको सामना गरिरहेको छ र हामी यस मित्रता सुदृढ गर्न इच्छुक छौँ ।”
महामारीपछि चीनले आफ्ना सीमाहरू पूर्ण रूपमा खोलेको भए पनि उत्तर कोरियाले सुस्त गतिमा खुलापन देखाएको छ । महामारीअगाडि, चिनियाँ पर्यटकहरू उत्तर कोरियामा विदेशी आगन्तुकहरूको ठूलो हिस्सा बनेका थिए । सन् २०१९ मा करिब तीन लाख ५० हजार पर्यटकले प्योङयाङ भ्रमण गरेका थिए । उक्त भ्रमणले देशको राजस्वमा महत्त्वपूर्ण योगदान दिएको थियो एनके न्युजले विश्लेषणमा उल्लेख गरेको छ ।
वाङ यीको भ्रमणले चीन–उत्तर कोरिया सम्बन्धलाई राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिले सुदृढ बनाउने अपेक्षा गरिएको छ, जसले क्षेत्रीय स्थिरता र दुवै देशबीचको भरोसापूर्ण सहकार्यमा नयाँ गति थप्नेछ ।