चितवन, २५ चैत : जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेको छ ।
कृषि विकास कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलका अनुसार खेतीयोग्य जमिनमध्ये ४२ हजार ५५० हेक्टरमा खेती भइरहेको छ । खेती भइरहेको जमिनको ६१ दशमलव ८ प्रतिशत क्षेत्रफल मात्र सिँचाइ सुविधा पुगेको छ । खेती हुँदै आएको जमिनमध्ये २६ हजार ३०८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।
सिँचाइ डिभिजन कार्यालय चितवनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सिञ्चित क्षेत्रफल बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म २२ हजार ६३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा रहेकामा यसवर्ष थप क्षेत्रफलमा वृद्धि भएको हो ।
नहर माँसिदा सिञ्चित क्षेत्रफल घट्यो
नारायणी लिफ्ट तथा खडेरी सिँचाइबाट भरतपुर र पश्चिम क्षेत्रमा हुने गरेको कृषियोग्य जमिनको क्षेत्रफल भने घटेको छ । नहरहरु मासिँदा सिञ्चित क्षेत्रफल घटेको हो ।
नारायणी लिफ्ट, खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार यो आयोजनाबाट हुने सिँचाइमध्ये ३८ प्रतिशत क्षेत्रफल घटेको छ । मुख्यगरी नारायणी लिफ्ट सिँचाइ प्रणालीको नहर प्रणालीका अधिकांश शाखा नहर मासिँदा सिँचाइको क्षेत्रफल घट्न गएको कार्यालयका प्रमुख कुलप्रसाद चालिसेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी नहरका सिएल एकदेखि पाँचसम्मका शाखा नहर मासिएका छन् । जुन भरतपुर महानगरपालिकाको वडा नं १०, ११ र १२ मा पर्दछन् । उहाँले भन्नुभयो, “मुख्यगरी बाइपास क्षेत्र हुँदै विभिन्न ठाउँमा सिँचाइको व्यवस्था हुने शाखा नहर मासिएका छन् ।”
नारायणी लिफ्टले चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्नसक्ने भए पनि हाल यो दुई हजार ९०६ दशमलव पाँच हेक्टरमा सिँचाइ हुँदै आएको छ । एक हजार ७९३ दशमलव पाँच हेक्टर सिञ्चित क्षेत्रफल घटेको उहाँले बताउनुभयो ।
नहर बग्ने क्षेत्रमा सडक, भौतिक पूर्वाधार, पार्क निर्माण हुँदा सिञ्चित क्षेत्रफल घटेको उहाँले बताउनुभयो । नहर मासिँदा सिँचाइको समस्यासँगै सहरको सौन्दर्यतामा समस्या पर्न गएको उहाँले जानकारी दिनुभयो ।
नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले खेती गर्नेले नै खेती गर्न छोडेर नहरमा सडक बनाउन थालेपछि यहाँको सिञ्चित क्षेत्रफल घटेको हो ।