ढोरपाटन (बागलुङ), २६ चैतः बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रु एक करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान रु एक करोड नौ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो ।
विसं २०८० को तिहारमा देउसीभैलोबाट स्ववियु कार्यसमितिले अक्षयकोष निर्माण अभियान चलाएको थियो । अहिले आएर पूरा भएपछि क्याम्पसलाई हस्तान्तरण गरेको छ । विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर पढ्ने वातावरण बनाउनका लागि कोष स्थापना गरिएको निर्वतमान स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो ।
यस क्याम्पसमा स्नातक तहमा विज्ञान, बिबीए र बिसीआइटी विषयको अध्यापन गरिन्छ । त्यसबाहेक स्नातकोत्तर तहमा एमबिएस, मानविकीतर्फ समाजशास्त्र, नेपाली, अङ्ग्रेजी तथा शिक्षा सङ्कायमा अध्यापन हुँदै आएको छ । क्याम्पसमा प्राविधिक विषय पढ्न चाहने विपन्न विद्यार्थीलाई यो कोषबाट सहयोग गरिने कँडेलले बताउनुभयो ।
कार्यविधि बनाएर विद्यार्थीको छनोट गरी छात्रवृत्ति दिने क्याम्पस प्रमुख सुदर्शन सिलवालले बताउनुभयो ।