चैत २६, २०८२ बिहिबार

काठमाडौं, २७ चैत : सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा डानियल म्युलीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

    सभामुख अर्यालले राजदूत म्युलीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबीच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताउनुभयो । उहाँले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गर्नुभयो । सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराउनुभयो ।

    सो अवसरमा सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्वीस विकास तथा सहयोग निकायमार्फत पु¥याइएको योगदानको उच्च प्रशंसा गर्नुभयो । “नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौँ,” सभामुख अर्यालले भन्नुभयो, “आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु ।”

    संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसद्बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गर्नुभयो । सभामुखले संघीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।

    भेटमा राजदूत म्युलीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत म्युलीले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्याण्डको सदैव सहयोग रहने आश्वासन दिनुभयो ।