काठमाडौँ, २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रियसभाले धन्यवाद ज्ञापन गरेको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राख्नुभएको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज अपराह्न ३ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको व्यहोरा सुनाउनुभयो । सभामा अध्यक्ष दाहालले संसदीय सुनुवाइ समितिमा सदस्यहरू आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरू किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा अञ्जान शाक्यलाई मनोनित गरिएको जानकारी दिनुभयो । उक्त मनोनयलाई सभाले सहमति जनाएको छ ।
बैठकमा अध्यक्ष दाहालले राष्ट्रिपतिको कार्यालयबाट प्राप्त चालु २०औँ अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही चैत २४ गतेको सिफारिसमा आजै राति १२ः०० बजेदेखि लागू हुनेगरी सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।