काठमाडौँ, २७ चैतः काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि रु २० लाख सहयोग गर्ने भएको छ । हाम्रो बाल संरक्षण धरोहर नेपालको आयोजना तथा एसिया प्यासिफिक स्कुल टोखाको सहयोगमा आजदेखि यहाँ सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा टोखाले आश्रम निर्माणका लागि रु २० लाख सहयोग गर्ने घोषणा गरेको हो ।
सप्ताहको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अनाथ तथा असहाय बालबालिकाको संरक्षणका लागि हाम्रो बाल संरक्षण धरोहर नेपालले निर्माण गर्न लागेको आश्रमका लागि स्थानीय सरकारको तर्फबाट टोखाको साथ र सहयोग रहेने प्रतिबद्धता जनाउनुभयो ।
“बालआश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा र भवन निर्माणको बजेटका लागि अहिले टोखा नगरपालिकाको तर्फबाट रु २० लाख सहयोग गर्नेछ, पछि अपुग भएमा नगरपालिकाको सहयोग निरन्तर रहनेछ”, नगरप्रमुख अधिकारीले भन्नुभयो । उहाँले महान् उद्देश्यका साथ अनाथ तथा असहाय बालबालिकाका लागि आवास निर्माण गर्ने उद्देश्यले सुरु गरिएको सप्ताह ज्ञान महायज्ञमा सहभागी भई आफूले सकेको दान गर्न नगरबासीलाई आग्रहसमेत गर्नुभयो ।
नगरपालिकाकी उपप्रमुख मुरारी तामाङले सकारात्मक कामका लागि स्थानीय सरकारको सधैँ साथ र सहयोग रहने बताउनुभयो । वडा नं ६ का वडाध्यक्ष शान्ता खनाल पौडेलले सडकमा रहेका बेवारिसे बालबालिकाको संरक्षणमा हाम्रो बाल संरक्षण धरोहर नेपालले खेलेको भूमिका सराहनीय रहेको धारणा राख्नुभयो । टोखा नगरपालिकालाई बालमैत्री स्थानीय सरकार घोषणा गर्नका लागि स्थानीय सरकार लागेकाले यसमा सहयोग गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।
सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक एवं स्कुलका प्राचार्य रमेश घिमिरेले अनाथ तथा असहाय बालबालिकाका लागि आश्रम निर्माण गर्ने उद्देश्यले आजदेखि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएकाले यसमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो । बालबालिकाको संरक्षण गर्ने जिम्मा सरकारको भएपनि व्यक्तिको पहलमा गरिएको यस्तो प्रयासमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाकी संस्थापक विनिता अर्यालले अनाथ तथा असहाय बालबालिका बस्नका लागि स्थायी घर निर्माण गर्ने उद्देश्यका साथ सप्ताह सुरु गरिएको बताउनुभयो । आजदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । उक्त श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको भागवत मञ्जरी राधिका दासले कथावाचन गरिरहनुभएको छ ।