चैत २७, २०८२ शुक्रबार

भैरहवा (रुपन्देही), २७ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सम्भावित हवाई दुर्घटनापछि गरिने उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बृहत् सङ्कटकालीन पूर्वाभ्यास सम्पन्न गरिएको छ ।

    विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले यदाकदा हुनसक्ने दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र उद्धारमा संलग्न निकायको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाभ्यासअन्तर्गत दुर्घटना भएको अवस्थामा उद्धारकार्य कसरी शीघ्र र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने परीक्षण गरिएको हो ।

    साथै, मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने उपायहरूको अभ्यास गर्नुका साथै कुनै दुर्घटना भए पनि विमानस्थललाई छोटो समयमा पुनः सञ्चालनमा ल्याउने क्षमताको विकासमा जोड दिइएको थियो ।

    महाप्रबन्धक साहका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसार तीन प्रकारका अभ्यास सञ्चालन गरिएका छन् । ‘फुल स्केल एक्सरसाइज’अन्तर्गत जहाज दुर्घटना, घाइते तथा मृतकसमेत भएको यथार्थपरक अवस्था सृजना गरी उद्धार र उपचारको पूर्ण अभ्यास गरिन्छ भने ‘पार्सियल एक्सरसाइज’मा बम धम्कीजस्ता विशेष घटनामा केन्द्रित आंशिक अभ्यास गरिन्छ । ‘टेबल टप एक्सरसाइज’मार्फत सहभागी निकायबीच सञ्चार र समन्वय सुदृढ पार्न छलफल तथा योजनागत अभ्यास गरिन्छ ।

    दुर्घटनाका बेला प्रभावकारी सञ्चारलाई प्रमुख आधार मानिएको छ । टावरबाट प्राप्त सूचना सुरक्षा निकाय, अग्नि निवारण, रेडक्रस तथा अस्पतालसम्म कसरी द्रुत रूपमा पुग्छ र त्यसअनुसार कसरी प्रतिकार्य हुन्छ भन्ने विषयमा सुक्ष्म परीक्षण गरिएको साहले बताउनुभयो ।

    पूर्वाभ्यासमा विभिन्न निकायका प्रतिनिधिसँगै पर्यवेक्षकको सहभागिता थियो । सहभागीहरूले अभ्यासका क्रममा देखिएका कमजोरी औँल्याइ ‘डि–ब्रिफिङ’ मार्फत सुधारका उपाय सुझाव दिएका छन् । यस्ता अभ्यासले विमानस्थल सुरक्षामा मात्र नभई विपद्का बेला सर्वसाधारण र सञ्चारकर्मीलाई समेत उद्धार तथा सूचना प्रवाहमा सहयोग पु¥याउन सचेतना अभिवृद्धि हुने साहको भनाइ छ । 

    अन्तरराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास प्रत्येक दुई वर्षमा गर्नुपर्ने प्रावधान रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताउनुभयो । जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल पुनः सञ्चालन र आपत्कालीन उद्धारमा सरोकार भएकाहरूको सक्रियतालाई व्यवहारिक रूपमा सञ्चालन गर्न यस्ता अभ्यास प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । 

    अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डभित्र रहेर आज बिहान ८ः१५ देखि ९ः३० बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी ‘फुलस्केल’को आपत्कालीन अभ्यास गरिएको सूचना अधिकारी रावतले जानकारी दिनुभयो ।