चैत २९, २०८२ आइतबार

धनुषा, २९ चैतः नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको मिथिला नगरपालिकाका छ जना खेलाडी छनोट भएका छन् ।    

    सीमित स्रोतसाधनका बीच पनि स्थानीय खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि यस क्षेत्रमा खुसीको वातावरण बनेको छ । धनुषा हक्की सङ्घका सचिव दिवेशकुमार महतोका अनुसार मधेस प्रदेशबाट छनोट भएका नौ खेलाडीमध्ये छ जना मिथिला नगरपालिकाका छन् । दुई जना जनकनन्दनी गाउँपालिकाका र एक जना पर्सा जिल्लाका रहेका उहाँले जानकारी दिनुभयो । 

    मिथिला नगरपालिकाबाट छनोट हुनेमा शर्मिला यादव, लक्ष्मिनियाँ कुमारी, मधुकुमारी साह, रोशन यादव, पुरुषोत्तम महतो र उमेश श्रेष्ठ रहेका छन् । त्यस्तै जनकनन्दनी गाउँपालिकाबाट आशिका मण्डल र अङ्किता मुखिया तथा पर्साबाट मकेश्वर साह राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

    छनोट भएका महिला खेलाडीहरूले भारतको लखनउमा आयोजना हुने नेपाल–इन्डो हक्की प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । उक्त प्रतियोगितामा भारतका छ टोली र नेपालसहित कूल सात टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

    सचिव महतोले खेल सामग्री र पूर्वाधारको अभाव हुँदाहुँदै पनि मिथिला नगरपालिकाबाट उल्लेख्य सङ्ख्यामा खेलाडी राष्ट्रिय टोलीमा पर्नु गौरवको विषय भएको बताउनुभयो । उहाँका अनुसार खेलाडीहरूको निरन्तर अभ्यास, लगनशीलता र मेहनतकै कारण यस्तो उपलब्धि सम्भव भएको हो ।

    मिथिला नगरपालिका–२, नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा विगत पाँच वर्षदेखि महिला तथा पुरुष हक्की खेलाडी नियमित अभ्यास गर्दै आएका छन् । यद्यपि खेल सामग्रीको अभाव र खेलमैदानको स्तरोन्नतितर्फ जनप्रतिनिधिको पर्याप्त ध्यान नपुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    स्थानीयस्तरमा पर्याप्त पूर्वाधार र सहयोग उपलब्ध गराउन सके यस्ता प्रतिभाशाली खेलाडीहरूले अन्तरराष्ट्रियस्तरमा समेत देशको नाम उजागर गर्नसक्ने विश्वास व्यक्त गरिएको छ ।