चैत २९, २०८२ आइतबार

काठमाडौँ, २९ चैतः काठमाडौँको दक्षिणकाली नगरपालिका-८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आज दुर्घटना भएको हो । 

    उक्त दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका-१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो ।

    यसैबीच काठमाडौँ महानगरपालिका-९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागुऔषध गाँजा करिब सात किलोग्रामसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीको लागुऔषध ब्यूरोले जनाएको छ । 

    पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र मोहम्मद राइल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरिएको र उक्त घटनामा अनुसन्धान जारी रहेको जनाइएको छ ।