कात्तिक ५, २०७८ शुक्रबार

विराटनगर: प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्न लागेको हो।

नेकपा (एमाले)बाट गत भदौ १० गते मुख्यमन्त्री नियुक्त आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता गराएका थिए। आज बस्ने बैठकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव टेवल गरेपछि छलफलको प्रक्रियामा जानेछ।

सभामुख प्रदीपकुमार भण्डारील आजको बैठकमा छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी गरेका छन्। तर‚ प्रतिपक्षी दलहरु भने आजै सरकारको विश्वास परीक्षण हुनुपर्ने अडानमा छन्।

एमालेका प्रमुख सचेतक बुद्धि राजभण्डारीले आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव टेवल हुने बताए। बैठकअघि एमाले संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए।

बैठकको कार्यसूची तय गर्नका लागि साढे १० बजे सभामुख भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

आजै मतदान चाहन्छौ : गठबन्धन

नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनले आजै मतदान गरी नयाँ सरकार गठनको गृहकार्य सुरु गर्ने तयारी रहेको बताए।

उनले भने, ‘सभामुखज्युले के गर्नुहुन्छ भन्ने कुरा चाहिँ सभामुख हात हुन्छ।’

उनले सरकरले समय सारेर आफ्नो आयु लम्ब्याएको आरोप समेत लगाए। आङ्बोले भने, ‘सभामुखले आजसम्म सरकारलाई नै सहयोग गर्दै आइरहनुभएको छ, आजको भूमिका सभामुखको के हो भन्ने कुरा कार्यव्यवस्थाको बैठकमा उहाँले ल्याउनुभएको प्रस्तावबाट नै थाहा हुन्छ।’ दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्यमन्त्री आचार्य संसद छलेर राजनीतिक नियुक्ति गर्नतर्फ केन्द्रित भएका छन्।

अल्पमतमा मुख्यमन्त्री

गत भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित आचार्य मुख्यमन्त्री बनेका थिए। तर‚ एमालेका १० जना सांसद नेकपा (एकीकृत समाजवादी)मा गएपछि आचार्य स्पष्ट अल्पमतमा छन्।

९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन्। नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३‚ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक सांसद रहेका छन्।

असोज २४ गतेको बैठकपछि सभामुखले असोज २५ गतेका लागि बैठक बोलाएका थिए। तर सचिवालयमार्फत सूचना प्रकाशित गर्दै उनले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए।