कात्तिक ७, २०७८ आइतबार

काभ्रे । संयुक्त राष्ट्रसंघको स्थापना भएको दिनको अवसरमा नेपाली सेनाले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रक्षामन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शान्ति स्थापनाका लागि योगदानका सम्बन्धमा शान्ति कार्य निर्देशनालयले प्रस्तुतीकरण गरेको थियो। सोही अवसरमा शान्ति स्थापना कार्यमा खटिएको अवस्थामा वीरगति प्राप्त गरेका प्रधान सेनानी कवीन्द्रजङ्ग थापालाई दिइएको दाग ह्यामर्सजोल्ड पदक उनको परिवारलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रमलाई रक्षामन्त्री डा. रिजालले सम्बोधन गरेको नेपाली सेनाले जनाएको छ।