मंसिर १, २०७८ बुधबार

आज बसेको प्रदेशसभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्।

राईको पक्षमा ५० जना सांसदले मत दिएका छन् भने विपक्षमा २९ जनाले मत दिएका छन्। बुधबारको प्रदेशसभा बैठकमा ७९ जना प्रदेशसभा सदस्य उपस्थित थिए।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन्।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् ।


को हुन् मुख्यमन्त्री राजेन्द्र राई?


उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। भोजपुरको षडानन्द नगरपालिका झ्याउपोखरीका राई आरआर क्याम्पस काठमाडौंमा अनेरास्ववियुको सदस्य बनेका थिए। त्यसपछि २०४९ सालमा सभापति भए। अनेरास्ववियुको महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पनि सम्हाले।

राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि भएको विद्यार्थी आन्दोलनबाटै राई चर्चित बनेका हुन्। त्यति वेला अनेरास्ववियुको अध्यक्ष रहेका राईले राजदरबार अगाडि गणतन्त्रको नारा लगाएका थिए। त्यसकारण उनी विरुद्ध राजद्रोहको मुद्दा पनि लागेको थियो।

त्यसपछि पार्टी राजनीतिमा लागेका उनी भोजपुर ‘क’ बाट प्रदेश सभामा निर्वाचित भए। उनले संघीय समाजवादी फोरमका अजम्बर राई काङवाङलाई पराजित गरेका थिए। काङवाङ एमाले छाडेर फोरममा गएका थिए।

२०७४ को प्रदेश सभा निर्वाचनमा भोजपुर ‘ख’ बाट शेरधन राई उम्मेदवार थिए। उनलाई मुख्यमन्त्रीका रूपमा प्रचार गरिएको थियो। भोजपुर ‘क’ बाट उम्मेदवार बनेका राई भने अर्को चुनावमा मुख्यमन्त्रीको दाबी गर्ने मनस्थिति बनाएर प्रचारमा हिंडेका थिए।

प्रदेश १ मा एमालेले बहुमत ल्याएपछि शेरधन राई नै मुख्यमन्त्री बने। तर, एमाले विभाजनसँगै राजेन्द्र राईका लागि मुख्यमन्त्री बन्ने बाटो खुल्यो। एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादीमा लागे ।