जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा प्रदेश २ भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवमाथि कुटपिट भएको छ।
नेपाली काँग्रेसको वडाअधिवेशनमा मन्त्री यादवले हस्तक्षेप गरेपछि आफ्नै पार्टीका कार्यकर्ताले मन्त्रीलाई हातपात गरेका हुन्।
नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मुखियापट्टी मुसहरनियाँ ५ र ६ मा सुरक्षाकर्मीको सहयोगमा एकलौटी माइन्युट गरेर वडा अधिवेशन गर्न खोजेपछि त्यहाँ विवाद उत्पन्न भएको थियो। विवादले उग्र रूप लिएपछि स्थानीय केही कार्यकर्ताहरूले मन्त्री यादवमाथि हातपात गरेको बताइएको छ।
वडा सभापतिका उमेदवार ज्ञानेन्द्र यादवका अनुसार मन्त्री यादवले आफ्नो शक्तिको दुरूपयोग गर्दै अलोकतान्त्रिक र तानाशाही पाराले अधिवेशन गराउन खोजेपछि अधिवेशन रोकिएको हो । केही कार्यकर्तालाई पार्टीबाट हटाइएपछि तीन दिनदेखि अधिवेशन रोकेर राखेकाे उनले बताए । तर मन्त्री यादवले आफ्नो गाउँ हो भन्दै जबरजस्ती गर्न खोजेका र उनले आफ्नो पोकेटको मान्छेलाई सभापति बनाउन खोजेपछि धक्कामुक्की भएको उनको भनाइ छ ।
मन्त्रीमाथि हातपात भएपछि उनी बचाउका लागि नजिकैको प्रहरी चौकी बहेडाबेला पुगेका थिए। यद्यपि मन्त्री यादवमाथि कुटपिट नभएको प्रहरी चौकी बहेडाबेलाले जनाएको छ। स्थानीय कांग्रेसका कार्यकर्ताहरूले मन्त्री यादवविरुद्ध चर्का नाराबाजी गरेका छन् ।