जब कुनै मानव मृत्युको लडाइमा हुन्छन्, त्यतिखेर अक्सर ज्यान जोगाउन रगतको आवश्यकता पर्दछ । त्यतिवेला रगतको समूह मिलेको मान्छेको रगत प्रदान गरिन्छ, त्यहाँ कुनै जात विशेष भनिँदैन ।
त्यतिवेला बाँच्नका लागि एक उच्च जातको व्यक्तिले कथित तल्लो जातको भनिएको मान्छेको रगत मिले पनि चढाउँछ। तैपनि पाखण्डताका कारण जातीय विभेद गर्दछन् मान्छे ।
हाम्रो देश नेपाल हेर्नमा सानो भए पनि सुन्दर छ । अनेक किसिमकाे हावापानी यहाँ पाइन्छ । नदीनाला, वन, पहाडको धनी छ । विभिन्न जडिबुटीहरू यहीँ पाइन्छन् । सुन्दर र विशाल गाथा बोकेको देश हो यो । बुद्ध जन्मेको धर्ती हो यो । बहुल जाति, भाषा र संस्कृति भएको मुलुक हो । यसको जति वर्णन गरे पनि कम नै पर्छ ।
तर बिडम्बना र दुर्भाग्यको कुरा यो छ कि, केही व्यक्तिले निजी स्वार्थ पूर्तिका लागि समाजलाई नै अशान्त पारिदिएका छन् । जातीयताको विष फैलाइदिएका छन् । जुन क्रोनिक क्यान्सरको रूप लिई समाज र देशलाई कैयौँ सेन्चुरीदेखि तहसनहस पार्दै आइरहेका छन् ।
प्रदेश नं.२ र केन्द्रमा पनि दलित विकासका लागि दलित सशक्तीकरण ऐन पारित भयो, विकास समिति गठन भए ।तर निराशाको कुरा के भयो भने, यी विकास समितिहरू बजेट पचाउ अभियानमा मात्र सीमित रहेका छन् । हाम्रा अगुवा तथा क्रान्तिकारी कहलाउनेहरू पनि परिवर्तन गर्ने
अभियानलाई निजी रोटी सेक्ने थाप्लो बनाएर मात्र प्रयोग गर्दै छन्।
यदि अगुवा नेता कहलाउनेहरूले इमानदारीले काम गर्यो भने छिट्टै परिवर्तन हुन्छ । तर चम्चागिरिको बिमारी पनि कोरोनाभन्दा कडा रूपले फैलिसकेछ !
✍️ ललिता विद्रोही