रत्न राज्यलक्ष्मी क्याम्पसमा आइतबारबाट विधिवत रुपमा एमए तहमा नेपाल भाषामा पढाई शुरू भएको छ । शुक्रबार भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो कक्षाको सुभारम्भ गरे । सो अवसरमा भएको कार्यक्रममा बोल्दै उनले देशमा रहेका भाषा, संस्कृतिको संरक्षण सम्बद्र्वन गर्नु प्रदेश सरकार, स्थानीय सरकार तथा राज्यकै दायित्व तथा जिम्मेवारी रहेको बताए ।
उनले काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरी पाँच वर्षको सम्झौता गरिसकेकाले यो कार्यलाई अगाडि बढाउने प्रतिवद्धता जाहेर पनि गरे । कार्यक्रममा विशेष अतिथि त्रिविका डिन प्रा.डा. कुसुम शाक्यले नेपाल भाषाले भाषा मात्रै नभई साहित्य, संस्कृति, धर्म सिकाउने भएकाले नेपालभाषा जति चपायो त्यति रस आउने अथाह ज्ञानको भण्डार रहेको जनाउँदै बताए । उनले नेवारी भाषा पढ्न भर्ना भएका विद्यार्थीले आफ्नो दायित्व नभुलिकन अध्ययनमा जिम्मेवारी पूर्वक चौथो सेमेष्टरसम्म कक्षामा उपस्थित जनाएर अध्ययन गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेवाः विद्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले रितेश मल्ल, इन्द्रमान महर्जन, महेश्वर श्रेष्ठ, राजेश श्रेष्ठ, सुरोज तण्डुकार लगायतका अभियन्तासँग मिलेर नेवारी भाषा संरक्षणमा अगाडि लागिएकाले सबैको साथ पाउने आशा व्यक्त गरे । क्याम्पस स्ववियूका अध्यक्ष टपेन्द्रजंग शाहीले नेपाल भाषालाई भोलिका दिनमा क्याम्पस प्रशासनले सहयोग गरिने जनाउँदै नेपाल भाषामा अवसर दिनु पर्नेमा जोड दिए ।
उनले यसमा चुनौती दुबै रहेकाले आउँदो पिढीलाई काठमाडौं खाल्डोमा बसेकाहरुलाई एकेडेमिक क्षेत्रमा चिनाउनमा विद्यार्थी साथीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रमका सभापति डा. जीवनधर ज्ञवालीले नेपाल भाषा एमए अभियान पूर्णरूपमा सफल बनाउन रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल शिक्षक प्रा.डा चन्द्रमान बज्राचार्य लगायत विद्यार्थीहरुको अहम् भुमिका रहेको बताए । मातृभाषा बचाउ अभियान्ता नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनका अनुसार दिउँसो ३:३ बजेदेखि ७:३० बजेसम्म नेपाल भाषामा कक्षा सञ्चालन हुनेछ ।