मंसिर २३, २०७८ बिहिबार

त्रिभुवन विश्वविद्यालयको मङ्सिर १४ गते बालुवाटारमा बसेको त्रिवि सभाले करारमा कार्यरत ४ सय ८० शिक्षकहरूलाई परीक्षामा मात्र सामेल गराइ स्वतः स्थायी गर्ने आत्मघाती निर्णयले विश्वविद्यालयलाई नै सिध्याउने भएकाले यस्तो निर्णय विश्वविद्यालयले तत्काल बदर गर्नुपर्ने पूर्वउपकुलपतीहरूले माग गरेका छन्।

हाल त्रिभुवन विश्वविद्यालय आन्दोलनमय बनेको छ। एकातिर त्रिवि सभाको मङ्सिर १४ गतेको निर्णयविरुद्ध त्रिविका विद्यार्थी, पूर्वउपकुलपति र शिक्षकहरूनै आन्दोलनमा उत्रेका छन्, भने अर्कोतर्फ आंशिक शिक्षकसमेत समान कामको समान ज्याला माग गर्दै विश्वविद्यालयमा धर्ना बसेका छन्। उपकुलपति,शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा विद्यार्थीहरूले त्रिविको अनैतिक निर्णय फिर्ताको माग गर्दै ताला बन्दी गरेका छन्।

विश्वविद्यालयका पूर्वउपुकलपतिहरू केदारभक्त माथेमा,कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नवीनप्रकाशजंग शाहले संयुक्त रूपमै विज्ञप्ति जारी गरी सरकारसँग विश्वविद्यालय सभाले गरेको आत्मघाती निर्णय विश्वविद्यालयको हितमा नभएकाले तत्काल बदर गर्नुपर्ने माग गरेका हुन्।

त्रिवि सभाका पदाधिकारीहरू दबाबमा परेर गरेको यस्तो घातक निर्णयले विश्वविद्यालयको कहिल्यै पनि हित नगर्ने पूर्वउपकुलपति केदार भक्त माथेमाले जनाए।

उनले पूर्वउपकुलपति तिर्थ खानियाको कार्यकालमा पनि आफू त्रिवि सभाको सदस्य रहेको तर सभाले गरेको गलत काममा आफूले साथ दिन नसक्ने अवस्था आएपछि राजीनामा दिएर हिँडेको पनि जिकिर गरे।