कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमाले नेता नरबहादुर धामीका स्वकीय सचिव अर्जुन भट्टलाई कार्बाही गर्न माग गरेको छ ।
शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा शिक्षकहरूमाथि अभद्र व्यवहार गर्दै शिक्षालय प्रमुख निरज कँडेलाई धम्की दिने सांसदका स्वकीय सचिव भट्टमाथि कार्बाहीको माग गरिएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन शुक्लाफाँटा नगर समितिले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद धामीका स्वकीय सचिव भट्टमाथि कार्बाहीको माग अघि सारेका छन् । शिक्षक संगठनको विज्ञप्तिमा सांसद धामीका स्वकीय सचिव भट्टले फोनमार्फत अंग्रेजीका शिक्षकद्वय महेशराज भट्ट र शंकरदत्त जोशीलाई अध्यापन गराइरहेका पिरियड घटाएर आफ्नो मान्छेलाई राख्न दबाब दिएको भन्दै आपत्ति जनाएको छ । शिक्षालय प्रमुख कँडेलाई अपशब्द प्रयोग गरेर काम गरिराखेका शिक्षकद्वय भट्ट र जोशीलाई हटाउन दबाब दिनुका साथै धम्कीपूर्ण अभिव्यक्ति दिएको प्रति भर्त्सना गरिएको छ । शिक्षक र शिक्षालयमा बाह्य हस्तक्षेप गरेर शिक्षालय धरासायी बनाउने काम भएको भन्दै स्वकीय सचिव भट्टको धम्की, अभद्र र अर्मायादित कामको भर्त्सना गर्दै दोषीउपर कार्बाहीको माग अघि सारेका हुन् । गौरवपूर्ण शिक्षालयमा यस्ता बाह्य हस्तक्षेप धम्कीजस्ता कामले अशान्ति मच्चाएको भन्दै सुरक्षाको माग अघि सारिएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन शुक्लाफाँटा नगरका अध्यक्ष लोकेन्द्र कुँवर र सचिव उत्तम वडले हस्ताक्षर गरेको विज्ञप्तिमा सांसद धामीका स्वकीय सचिव भट्टमाथि कार्बाही र शिक्षालयको सुरक्षाको माग गरिएको छ । एमाले कञ्चनपुरका सह इन्चार्ज समेत रहेका सांसद नरबहादुर धामीका स्वकीय सचिव भट्ट यसअघि माओवादीबाटै राजनीति यात्रा गरेर एमाले र माओवादी अलग हुँदा ओली खेमातिर लागेका हुन् । शिक्षालयमा धम्कीबारे सांसद नरबहादुर धामीसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।