सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काँक्रेबिहार मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो। शिखर शैलीको उक्त मन्दिरलाई पुरातत्व विभागले ठेक्का दिएर पुरानै संरचनामा तयार पारेको हो।
काँक्रेबिहार मन्दिर भत्किएको १८८ वर्षपछि ठडिएको हो। अहिले यो मन्दिरलाई २१.५ मिटर उचाइको बनाइएको छ।
झण्डै २ सय वर्षसम्म भग्नावशेषका रूपमा रहेको यस मन्दिरबारे काठमाडौंका प्रेमसिंह बस्न्यातले विद्यावारिधि शोधपत्र गरेका थिए।
१८९० को भूकम्पले काँक्रेबिहार मन्दिर भत्किएको उल्लेख गरेका थिए। त्यतिमात्र होइन यो मन्दिर शिखर शैलीमा बनेको भन्ने पनि उनको शोधपत्रमा उल्लेख थियो।
बस्न्यातले काँक्रेबिहार परिसरमा बोर्डमै लेखेर आफ्नो यो शोधपत्रमा समावेश उक्त अंशलाई राखेका छन्। काँक्रेबिहार घुम्न वा अध्ययन गर्न जानेहरूले यसलाई काँक्रेबिहारको इतिहासका रूपमा लिन्छन्।
पर्यटकीय स्थल काँक्रेबिहार क्षेत्रको क्षेत्रफल १७५ हेक्टर रहेको छ।