पुस ४, २०७८ आइतबार

लोकराज जोशी

असीमित प्रश्नहरू

के हो यो धुवाँजस्तै उडिरहेको ?
न पूरा सेतो देखिन्छ, न पूरा कालो देखिन्छ
कसैले जिन्दगी हो भनिदिए
मैले आश्चर्य मान्नु किन ?

न पूरा देखिन्छु, न पूरा देखिन चाहन्छु
मैले जे देखिन चाहे पनि
जिन्दगीले आफूबाट मलाई पर देख्न चाहन्छ
मैले यस्तै जिन्दगी केही दिन अझैँ बाँच्न चाहेँ भने 
मभित्रको मृत्युले मलाई बाँच्न देला कि नाइँ ?

जे देख्छु 
जति देख्छु
बाँच्ने प्रयास गरिरहेका देख्छु
घरि जीवन बेच्छन्
घरी आफैँलाई बेच्छन्

के देख्दै छु 
यो जिन्दगी या मृत्यु ?
मृत्यु हो भनौं भने - मैले अझैसम्म बाँच्न पनि 
जानेको छैनँ
जिउँदो छु र पो 
वर-पर दु:ख देख्छु
नत्र त 
वर-पर धुवाँसँगै जलेर धुवाँ 
भइदिने मुर्दा देख्थेँ

आखिर के हो यो ?
न रित्तिने, न पूरा हुनसक्ने !
सकिन्थ्यो भने केहीबेर बिलौना गर्न पाँउथे
पूरा हुन्थ्यो त केहीबेर बाँच्न पाउँथे
श्वासको त्यान्द्रामा अडिएको 
परिधिभित्र सीमित समयमा 
सीमित खुशीहरू
असीमित संघर्ष
सीमित सपनाहरू
र असीमित आँसुहरू....


✍️ लोकराज जोशी