पुस ९, २०७८ शुक्रबार

 सरकारले विद्युत् व्यापार कम्पनी खडा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनी खडा गरेको जानकारी दिनुभएको हो । उहाँले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै शेयर भएको र अन्य विद्युत् उत्पादन कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग वित्तीय कारोबार गर्ने समेतको शेयरबाट लाइसेन्स लिएको बताउनुभयो । मन्त्री भुसालले निजी क्षेत्रले पनि यसमा चासो दिएकाले त्यसअनुसारको नै कार्यविधि बनाइरहेको बताउनुभयो । उहाँले अब विद्युत् व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री भुसालले नेपालमा कुलेखानीबाहेक जलाशययुक्त जलविद्युत् नभएकोले प्रदेश २ बाहेक अन्य प्रदेशमा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने बताउनुभयो । त्यसका लागि प्रदेश १ को दूधकोसी, गण्डकीको बूढीगण्डकी, लुम्बिनीको नौमुरे, कर्णालीको नलघाट, सुदूरपश्चिमको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउने र अध्ययनको अन्तिम चरणमा रहेको बताउनुभयो । मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् निर्माण खर्चिलो हुने भएकोले यो राज्यले नै बनाउने बताउनुभयो ।

मन्त्री भुसालले सिँचाइको बिजुली निःशुल्क गर्ने योजना बनाएको पनि बताउनुभयो । उहाँले मन्त्रालयले सिँचाइको बिजुली निःशुल्क गर्ने योजना बनाएको बताउनुभएको हो । मन्त्री भुसालले नेपालमा आफ्नै बहुउद्देश्यीय आयोजनाहरू सम्पन्न हुँदै गरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणसँग समायोजन र सहकार्य गरेर सिँचाइमा खपत हुने बिजुली निःशुल्क दिन सक्ने स्थितिमा मन्त्रालयले योजना अघि सारेको बताउनुभयो ।

मन्त्री भुसालले सिँचाइका लागि नेपालका सबै मानव बस्तीमा निःशुल्क बिजुली दिँदा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास हुने र तराईमा डिजेल, पेट्रोलबाट सञ्चालित हुने गाडीलाई दुरुत्साहित गरेर विद्युतीय साधनको प्रयोग हुने बताउनुभयो ।