कुनै पनि फिल्म प्रदर्शनमा आउनुअघि प्रचारप्रसार कत्तिको गरिएको छ, बजारमा चर्चा छ कि छैन, छ भने कस्तो खालको चर्चा भइरहेको छ भन्ने कुराले त्यसको व्यवसायमा प्रत्यक्ष असर पार्ने गर्छ।
त्यसैले फिल्मको प्रचारप्रसारका लागि राम्रै रकम छुट्ट्याइएको हुन्छ। व्यवसायमा नकारात्मक असर पर्ने गरी फिल्म कुनै विवादमा नतानियोस् भनेर निर्माता सतर्क भइरहेका हुन्छन्।
कोरोनाको पहिलो लहरले थला पारेको नेपाली फिल्म उद्योग अझै उठ्न सकेको छैन।
सरकारले हल खोल्ने अनुमति दिएको झण्डै तीन महिना भइसक्दा कुनै पनि प्रतीक्षित नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्।
केही आए तर ती फिल्म हलमा लागेको र उत्रिएको कसैले ख्यालै गरेन।
पुस २ गते प्रदर्शनमा आउने भनिएको प्रतीक्षित फिल्म 'चपली हाइट ३' अब पुस ३० मा प्रदर्शनमा आउने भएको छ।
पुस २ मा आउँदा बहुप्रतीक्षित हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' र तेलुगु फिल्म 'पुष्पाः द राइज' सँग जुध्नुपर्ने भएपछि निर्माताले दुई साता पछाडि पुस १५ देखि फिल्म रिलिज गर्ने बताएका थिए।
'चपली हाइट ३' को प्रचार प्रसार भइरहँदा देश लकडाउनमा गएपछि ०७६ चैतमै प्रदर्शन गर्ने भनिएको फिल्म डेढ वर्ष रोकिनु परेको थियो।
पुस २ बाट प्रदर्शनमा आउने भनेर प्रचारप्रसार भइरहेको फिल्मको मिति अन्तिम समयमा आएर फेरि सार्नुपर्यो।
त्यसपछि पुस १५ मा फिल्म रिलिज गर्ने भनेर अर्को चरणको प्रचारप्रसार सुरु भयो। फिल्मका पोस्टर टाँस्न निर्माता अर्जुन कुमार स्वयम् खटिए।
फिल्महल, राजधानीमा गुड्ने ट्याक्सी, चियाका थर्मसमा समेत 'चपली हाइट ३' पुस १५ लेखिएको पोस्टर टाँसेर फिल्मको अन्तिम चरणको प्रचार गरियो।
तर, प्रदर्शन मितिको ५ दिनअघि आएर फिल्म फेरि दुई साता पछाडि सार्नुपर्ने भयो।
पुस २ मा प्रदर्शनमा आउँदा ठूलो घाटा बेहोनुपर्ने देखिएपछि निर्माताले फिल्म रिलिजको लागि पुस १५ लाई राम्रो दिन देखेका थिए।
तर, पहिले नै अर्को नेपाली फिल्म 'कठपुतली'ले पुस १६ लाई आफ्नो प्रदर्शन मिति तोकेका थियो।
नेपाली फिल्म क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै दुई वा दुईभन्दा बढी नेपाली फिल्म एउटै मितिमा प्रदर्शन गर्न नपाउने र प्रदर्शन मितिको अन्तर कम्तीमा दुई साता हुनुपर्ने भनेर बनाइएको नियमका कारण चपली हाइट फेरि दुई साता पछि सर्नुपर्यो।
नेपाल चलचित्र संघले 'चपली हाइट ३' र कठपुतलीका निर्मातालाई आइतबार सँगै राखेर गरेको छलफलपछि औपचारिक रुपमा फिल्मको प्रदर्शन मिति सारिएको हो।
छलफलमा चलचित्र प्रदर्शन व्यवस्थापन समितिले गत असोजमा गरेको निर्णयको ४ नम्बर बुँदा चर्चाको विषय बन्यो।
उक्त बुँदामा लेखिएको थियो, नेपाली चलचित्रको प्रदर्शनको मिति तोकिएको समयमा विदेशी चलचित्रहरु सोही मितिमा प्रदर्शन गरिने छैन।
तर त्यसकै भोलिपल्ट बसेको बैठकले उक्त बुँदा परिमार्जन गरेर 'एकै मितिमा एकभन्दा बढी स्वदेशी चलचित्र प्रदर्शनमा आउने निर्माता, वितरकले घोषणा गरेमा तीमध्ये कुनै एक मात्र चलचित्र प्रदर्शन गर्ने निर्णय समितिले गर्नेछ' बनाइएको थियो।
उक्त निर्णय हुँदा संयोजक रहेका चलचित्र संघका महासचिव अशोक शर्माले विदेशी फिल्मको रिलिज आफूहरूको हातमा नहुने भएकाले नेपाली फिल्मको हकमा मात्रै लागू हुने गरी उक्त बुँदा सच्याइएको बताए।
महासचिव शर्माले वैशाख १ गतेसम्म कुनै पनि दुई वटा फिल्मले एउटै मिति घोषणा नगर्न आग्रह गरेका छन्।
साथै प्रदर्शन मिति घोषणा भए पनि प्रदर्शनमा भने एउटै फिल्म आउने पनि उनले स्पष्ट पारे।
एक महिनामै दुई पटक फिल्मको प्रदर्शन मिति सार्नुपरेको 'चपली हाइट ३' को ०७६ चैत २८, ०७८ पुस २ र पुस १५ गरी तीन चरणमा प्रचारप्रसार भइसकेको छ।
फिल्मका निर्माता अर्जुन कुमारले आइतबार भएको छलफल अब आफूहरूसँग प्रचारप्रसारका लागि पोस्टर पनि बाँकी नरहेको गुनासो गरे।
'चपली हाइट ३' को नयाँ प्रदर्शन मिति तोकिएको पुस ३० मा नै प्रभास अभिनित अर्को तेलुगु फिल्म 'राधे श्याम' पनि प्रदर्शनमा आउँदैछ।
प्रभासका अघिल्ला फिल्मको प्रदर्शनले ठूलो लगानीमा बनेको 'राधे श्याम'को तरंग नेपालमा राम्रै देख्न सकिने अनुमान लगाउन सकिन्छ।
अर्जुन कुमारको निर्माणमा बनेको 'चपली हाइट ३' लाई निकेश खड्काले निर्देशन गरेका हुन्।
सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट, प्रतीकमान श्रेष्ठ, महेश त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
यसअघि प्रदर्शनमा आएका 'चपली हाइट' र 'चपली हाइट २' व्यावसायिक रुपमा सफल फिल्म हुन्।
'चपली हाइट ३' कस्तो बनेको छ, फिल्मको प्रदर्शन मिति, कलाकार र पारिश्रमिकको विवाद तथा विदेशी फिल्मले यसको व्यवसायमा कस्तो असर पर्छ भन्ने चाहिँ हेर्न बाँकी छ।