पुस १४, २०७८ बुधबार

उन्नाइसौँ शताब्दीको अन्त्यतिर फिल्मको विकास भएसँगै यसमा अनेकौँ प्रयोग हुन थाल्यो। आविष्कार भएको थोरै समयमै यो कथा वाचनको बलियो माध्यम बन्यो। 

फिल्ममार्फत कथा भन्ने चलन विस्तारै विश्वभर फैलँदै गयो। यथार्थपरक, काल्पनिक, स्वैरकाल्पनिक लगायत फरक फरक विधामा फिल्म बन्दै गए, विभिन्न प्रयोग हुँदै गए र विकास हुँदै गयो। झण्डै १ सय २५ वर्षपछि फिल्म आजको अवस्थामा आइपुग्यो।

फिल्मका अन्य विधासँगै हरर (तर्साउने) विधामा पनि विभिन्न प्रयोग हुन थाले। फिल्मको विकाससँगै उन्नाइसौँ शताब्दीको अन्त्यतिरबाटै हरर विधामा काम हुन थाले पनि व्यावसायिक रूपमा भने सफल हुन सकिरहेको थिएन।

सन् १९७३ मा विलियम फ्रेडकिनको निर्देशनमा बनेको हरर फिल्म 'द एक्सोर्सिस्ट' व्यावसायिक रूपमा ब्लकबस्टर सावित भयो। विलियम पिटर ब्लाटीको उपन्यासमा आधारित फिल्मले ४ सय ४० मिलियन डलरभन्दा बढीको कारोबार गरेको थियो। 

त्यसअघि हरर विधामा सीमित निर्देशकले काम गर्ने गरेकोमा 'द एक्सोर्सिस्ट' पछि यो विधामा धेरै फिल्म बन्न थाले। 'द मम्मी', 'द कन्जुरिङ', 'द नुन', 'आइटी' लगायतका फिल्म विश्वभर रुचाइए। 

सन् २०१७ मा बनेको 'आइटी'ले हरर फिल्मको इतिहासमा नयाँ कीर्तिमान बनायो। स्टेफन किङको उपन्यासमा आधारित फिल्म ७ सय मिलियन डलरभन्दा बढी कमाइ गर्ने पहिलो हरर फिल्म हो। 

विश्व सिनेमामा सय वर्षभन्दा अगाडिदेखि हरर फिल्मको अभ्यास भए पनि नेपालमा भने यो विधामा धेरै फिल्म बनेका छैनन्। 

नेपाली फिल्ममा हरर विधालाई पनि स्थापित गर्ने उद्देश्यका साथ अर्पण थापाले लगातार 'सुनकेशरी' र 'घर' बनाए। अर्पणकै लेखन तथा निर्देशन रहेका फिल्म व्यवसायिक रूपमा सफल हुन सकेनन्। 

युट्युबमा भने दुवै फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्। अर्पणको नयाँ प्रयासलाई धेरैले मन पराएका छन्। 

शुक्रबारदेखि नयाँ नेपाली हरर फिल्म 'कठपुतली: द पपेट' प्रदर्शनमा आउँदै छ। 

नेपालमा हरर फिल्मले व्यावसायिक रूपमा खासै राम्रो प्रदर्शन गर्न नसकिरहेका वेला 'कठपुतली'बाट भने धेरैले आशा गरेका छन्। 

विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा पुगेर आएको कठपुतलीले अमेरिकाको प्रतिष्ठित विन्टर फिल्म फेस्टिभलमा उत्कृष्ट हरर फिचर फिल्म र इन्डी पिक्स अवार्ड गरी दुई अवार्ड जितेको थियो। 

सम्पदा मल्लको लेखन तथा भीमसेन लामाको निर्देशन रहेको फिल्मलाई अष्ट्रेलियाली छायांकार जोल फ्रुम एसिएसले गरेका हुन् भने फिल्मको सम्पादन बेलायतको लण्डनमा बेन एलिन्सन र एरिक मेकभिक्सले गरेका हुन्। फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम लण्डनमै भएको हो। 

पृथ्वी राना मगरको निर्माणमा बनेको फिल्ममा कर्मा शाक्य, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्के, सुवर्ण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

फिल्मको ट्रेलरमा आएको प्रतिक्रियाले दर्शक 'कठपुतली'को प्रतीक्षामा रहेको संकेत गरेको छ। दुईवटा ट्रेलर र फिल्मको 'यो ज्यान कठपुतलीु' बोलको गीत सार्वजनिक भइसकेको छ। 

ऐतिहासिक पृष्ठभूमिमा बनेको फिल्मको छायांकन पाल्पाको रानीमहल तथा काठमाडौंका विभिन्न ठाउँमा भएको हो। फिल्ममा कर्मा राजकुमारको भूमिकामा देखिएका छन्। 

प्रदर्शन अगाडि भइरहेको चर्चा परिचर्चाले 'कठपुतली'ले नेपालमा हरर विधालाई स्थापित गर्ने अपेक्षा पनि धेरैले गरेका छन्। 

'कठपुतली' कोरोना महामारी पछि प्रदर्शनमा आउन लागेको ठूलो बजेटको पहिलो नेपाली फिल्म पनि हो। 'कठपुतली'सँगै बलिउड फिल्म 'जर्सी' र हलिउड फिल्म 'घोस्टबस्टर: आफ्टरलाइन' पनि प्रदर्शनमा आउँदै छन्। 

अब फिल्म कस्तो बनेको छ, दर्शक तथा समीक्षकको प्रतिक्रिया कस्तो आउँछ तथा व्यावसायिक रूपमा कस्तो प्रदर्शन गर्छ भन्ने चाहिँ हलमा आइसकेपछि थाहा लाग्नेछ।