पुस १७, २०७८ शनिबार

 ब्राउन सुगर मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाहुरे’लाई ८ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

लाहुरेसहित अन्य ४ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको हो।

पक्राउ पर्नेमा लाहुरेसहित नवीन गुरुङ, सुस्मिता गुरुङ र ध्रुवबहादुर थापा छन्।

उनीहरूलाई प्रहरीले बुधबार समातेको थियो। बिहीबार अदालत बन्द रहेकाले शुक्रबारमात्रै अदालतले आदेश दिएको हो। 

प्रहरीका अनुसार लाहुरेसहित ४ जना ब्राउन सुगर सेवन गरिरहेका वेला पक्राउ परेका थिए।

उनीहरू सेवनमात्र गर्थे कि ओसारपसारमा पनि संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ। 

उनीहरूमाथि ब्राउन सुगर ओसारपसारको पनि आरोप रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूबाट करिब १३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो।

लामो समयदेखि र्‍याप गाउँदै आएका लाहुरे बार्ज र्‍याप ब्याटलबाट चर्चामा आएका थिए।

उनका 'मेरो सोल्टा', 'नेपहपको बाटो', 'चुप लाग' लगायत गीत चर्चित छन्।

उनले 'ताण्डव' फिल्ममा अभिनेताको रूपमा काम गरेका छन् भने रियालिटी शो हिमालय रोडिजमा पनि आबद्ध छन्।