गोरखाको चुमनुब्री–४ गपमा माउन्टेन चाइल्डद्वारा सञ्चालित ईसीडी कक्षा। तस्बिर : शिव उप्रेती
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाका सातवटा वडामा सञ्चालित ‘माउन्टेन चाइल्ड’ नामक एक संस्थाविरुद्ध क्रिश्चियन धर्म प्रचार गरेको गृृहमन्त्रालयमा उजुरी परेपछि ६ महिनादेखि सेवा बन्द गरेको स्थानीयले बताएका छन्।
संस्थाले चुमनुब्री गाउँपालिका–४ मा सञ्चालन गरेको तीनवटा पूर्वप्राथमिक विद्यालय, एउटा गाउँघर क्लिनिक र सुत्केरी तथा घाइतेको हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम साउनदेखि बन्द भएको स्थानीय नीमा ग्याल्बो लामाले बताइन्।
माउन्टेन चाइल्डको सहयोगमा गप जागरण समाजले गप, क्वाक र छाकमा पूर्वप्राथमिक विद्यालय(ईसीडी) सञ्चालन गरेको थियो। गृह मन्त्रालयको निर्देशनमा समाज कल्याण परिषद्ले कार्यक्रम गर्न अनुमति नदिएपछि सबै सेवा बन्द भएको स्थानीयले बताएका छन् । संस्थाले नियमित रूपमा विद्यार्थीलाई दिँदै आएको स्टेसनरी, पोसाक, ओढ्ने, ओछ्याउने भाडाकुँडा किन्न दिइरहेको रकम पनि बन्द भएको छ।
‘अध्यक्ष म स्वयं लामा गुरु हुँ। समुदायस्तरमा काम गर्ने माउन्टेन चाइल्ड होइन हाम्रो संस्था हो। ऊ त केवल दातृ संस्था मात्र हो। हामी कसरी धर्म प्रचार गर्न दिन्छौँ र ?,’ उनले भने।
‘धर्म प्रचार गरेको आरोपले हामी स्तब्ध भएका छौं,’ सो संस्थाका कार्यक्रम संयोजक सुशील रञ्जितले भने।