बैशाख १२, २०८१ बुधबार

काठमाडौँ । फिल्म ‘आम नागरिक’को काम सुरु भएको छ । बुधबार ‘जब तिमीसँग मिठो प्यार भयो’ बोल रहेको गीत रेकर्ड गर्दै निर्माण युनिटले फिल्मको काम सुरु गरेको हो ।

गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्न लागेको फिल्मका प्रस्तुतकर्ता पुस्कर राउत हुन् ।

विनयराज पौडेलले निर्देशनमा डेव्यु गर्न लागेको फिल्मको अहिले धमाधम कलाकार छनौट भइरहेको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको छायाङ्कन चाँडै सुरु हुनेछ । फिल्मको लेखन पनि स्वयम् निर्देशकै रहेको छ ।

दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशका रूपमा काम गरिसकेका विनयले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।