माघ ५, २०७८ बुधबार

बुडर (डोटी), माघ ५ गते । २०७६ माघ २० गते मन्त्रिपरिषद्ले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको औद्योगिक ग्राम बनाउने निर्णय गरेको थियो । सो निर्णय भएसँगै बहुवर्षीय योजनाअन्तर्गत औद्योगिक ग्रामको निर्माणकार्य सुरु गरिएको थियो । तर हाल उक्त निर्माणाधीन औद्योगिक ग्रामको निर्माण कार्य अलपत्र परेको छ । 

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६/२०७७ मा ९२ लाख रुपियाँ निकासा आएकामा ८३ लाख ६० हजार रुपियाँ खर्च भएको थियो । सो रकमबाट औद्योगिक ग्राम निर्माणस्थलमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायतका संरचनाको निर्माण भएको थियो । त्यसपछि थप बजेट निकासा नहुँदा औद्योगिक ग्राम निर्माणकार्यलाई पूर्णता दिन नसकिएको जोरायल गाउँपालिका अध्यक्ष ओझाले बताए ।

जोरायल गाउँपालिकाको बुडरमा ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणका लागि जमिन छुट्ट्याइएको छ । यसलाई विस्तार गर्न पाँच सय रोपनीसम्म जग्गा लिने तयारी गरिएको बताइएको छ । औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मौखिक रूपमा आएको जानकारी दिनुहुँदै अध्यक्ष ओझाले भने, “डीपीआर निर्माणका लागि आउदै छौँ भनेर फोन आएको थियो तर डीपीआर निर्माणको काम सुरु भएको जानकारीसमेत आएको छैन । ”

औद्योगिक ग्राम निर्माणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच २०७६ फागुन १६ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत–साधन, कच्चा पदार्थ, प्रविधि र सीप परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण अगाडि बढाइएको हो । उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु-याउने औद्योगिक ग्राम निर्माणको उद्देश्य रहेको थियो ।