माघ ५, २०७८ बुधबार

काठमाडौँ, माघ ५ गते । टियु मैदान कीर्तिपुरमा बुधबार सम्पन्न प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझाएको छ । एपिएफले दिएको एक सय ५८ रनको विजय लक्ष्य पछ्याएको पुलिस २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । दिलिप नाथले २३, आरिफ शेखले १२ र अनिल शाह १० रन बनाए । बलिङमा एपिफका किशोर महतोले तीन विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले १९.५ बल ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । एपिएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । लोकेश बमले २७, सन्दीप जोराले २४, कप्तान शरद भेषवाकर १९ र भुवन कार्कीले १७ रन बनाए ।

बलिङमा पुलिसका दिपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिए । गुलशन झाले दुई तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एक एक विकेट लिएका थिए । एपिएफका किशोर महतो फाइनल खेलको प्लेयर अफ दि म्याच भए ।