माघ ६, २०७८ बिहिबार

कञ्चनपुर । चिसो बढेसँगै वातावरण मध्यवर्ती सामुदायिक वनले चोकचोकमा दाउरा वितरण गरेको छ ।  शुक्लाफाँटा नगरपालिका वडा नं-७ स्थित कालापानीमा रहेको सामुदायिक वनले बुधवार वडा नम्बर ७ मा दाउरा वितरण गरेको वनका अध्यक्ष लोकेन्द्रराज जोशीले बताएका छन् ।

चिसो र शितलहर ह्वात्तै बढेर जनजीवन प्रभावित भएको छ । आगो ताप्नका लागि वनले डेढ सय क्विन्टल दाउरा वडाका विभिन्न चोकहरूमा वितरण गरिएको उनले जानकारी दिए । "केही दिनयता चिसो निकै बढेको छ" अध्यक्ष जोशीले भने, "स्थानीयहरूलाई केही हदसम्म भए पनि राहतस्वरूप हामीले वडाका विभिन्न चोकचोकमा दाउरा वितरण गरेका हौँ ।" साथै उनले घना बस्ती भएको ठाउँमा मागअनुसार पुन: दाउरा वितरण गरिने बताए । शितलहर र चिसोका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन नदिई चिसोबाट स्थानीयलाई जोगाउन दाउरा वितरण गरिएको हो । यस्तै सामुदायिक वनले हात्ती प्रभावित निकुञ्जनजिकका परिवारलाई दैनिक रूपमा दाउरा वितरण गरिरहेको छ ।