माघ ६, २०७८ बिहिबार

काठमाडौंको नारायणहिटी सङ्ग्रहालयभित्र माघ १९ देखि २९ गतेसम्म महायज्ञ गरिने बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ। श्री सतीश्राप मोक्ष धाम झापा र हजुरलाई नमस्ते परोपकारी अभियान काठमाडौको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो। महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न ताराबहादुर कुँवरको अध्यक्षतामा महायज्ञ आयोजक मूल समारोह समिति गठन गरिएको छ।

समितिका संयोजक कुँवरले महायज्ञ संग्रहालयभित्रको तत्कालीन राजा महेन्द्रले कोटी होम गर्न लगाएको ठाउँमै हुने जानकारी गराए। देशमा शान्ति सुव्यवस्था, अमनचयन, विभिन्न धर्मसङ्कटबाट मुक्ति गराउने उद्देश्यका साथ महायज्ञ गर्न लागेको कुँवरले जनाए। महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय गरिएको छ। 

महायज्ञको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ। महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई आमन्त्रण गरिएको जनाइएको छ। महायज्ञमा सबै सर्वसाधारणलाई भने प्रवेश दिइने छैन। एक वर्षभित्र मातापिता, आफन्त बितेका सर्वसाधारणका लागि मात्रै महायज्ञभित्र प्रवेश हुन पाउने जनाइएको छ।

समाजसेवी दिलविकास राजभण्डारी, संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, युगप्रसाद धमला (हरि), वीरेन्द्रराज दाहाललगायतले कोरोनाको कहरबीच पनि सुरक्षित उपाय अपनाइ महायज्ञ गरिने बताए। महायज्ञका क्रममा अन्य महायज्ञमा जस्तो कथावाचन, भजनकीर्तन, नाचगान केही पनि नहुने उनीहरूले जानकारी दिए। यसक्रममा दुईदुई मिटरको फरक पारी २१ जना ब्राह्मणहरूबाट होम हाल्ने काम मात्रै हुने आयोजकको भनाइ छ। तयारी समितिको आफ्नै खर्चमा महायज्ञ हुन लागेको हो।