माघ ७, २०७८ शुक्रबार

बुधबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले राजधानीको विभिन्न स्थानबाट अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले कीर्तिपुर नगरपालिकाको चोभार, नगाउँ र बागभैरवका केही घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो। 

प्रहरीले उनीहरूसँग जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाइल, दुई थान कम्प्युटरको सीपियु, दुई थान मनिटर र तीन थान राउटरलगायत उपकरणहरू बरामद गरेको छ ।

‘पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाइ तीन वटा घरमा २४ सै घन्टा सिफ्टवाइज कर्मचारीसमेत राखेका रहेछन्,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदारप्रसाद कोइरालाले भने, ‘ती कर्मचारीले फेसबुक आइडीमार्फत् अमेरिकी र युरोपेली नागरिकहरूलाई साथी बनाई जुवा, फायर किरिङ, रिभर स्विप्स्, रिभर मोन्स्टर र भेगर एक्सलगायत अनलाइन जुवा खेल्ने लिंक सेयर गरी अमेरिकन डलर लोड गर्न लगाइ गेम खेलाउने तथा जित्नेलाई तोकिएको धनराशि समेत पुरस्कारका रूपमा दिइने रहेछ।’  

सोधपुछका क्रममा उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको प्रहरीले जनाएको थियो। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका थिए। पक्राउ परेका १२ जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।