माघ ७, २०७८ शुक्रबार

काठमाडौं, माघ ७। नेपाल धितोपत्र बोर्डले आइपिओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । सेयर बजार उकालो लागिरहेकै बेला बोर्डले पाँचवटा कम्पनीको प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुङ्ग्याएपछि साना लगानीकर्ता हौसिएका छन् ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आइपिओ निष्कासनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन । गत १४ साउन बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आइपिओ निष्कासन गर्न अनुमति दिएपछि बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपिओपश्चात् पछिल्लो समय आइपिओ निष्कासन भएको छैन ।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आइपिओ बिक्री गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले बुधबार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीका अनुसार ती कम्पनीहरूले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र सूचीकरण र आह्वानपत्र स्वीकृतिको काम भने गर्न बाँकी नै छ ।

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।

त्यस्तै, ग्रिन भेन्चरस लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २८ फागुन २०७७ बाट धितोपत्र बोर्डमा निवेदन दिएको थियो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २४ असार २०७८ बोर्डमा निवेदन दिएको थियो । नेस्डो लघुवित्तले भने ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्रीका लागि ६ असार २०७८ निवेदन दिएको थियो ।

बोर्डमा ३१ कम्पनीको ८ अर्ब ५० करोड ८७ लाख ८४ हजार ४ सय रुपैयाँबराबरको ७ करोड ८३ लाख ६७ हजार ८ सय ४४ कित्ता आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा रहेका छन् ।

हाल धितोपत्र बोर्डमा यी पाँचवटा कम्पनीसहित ३१ वटा कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् ।