काठमाडौँ, माघ १० गते । नेपाल विद्युत् प्राधिकरणले नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झारेको छ ।
प्राधिकरणले गत वर्षको मङ्सिरसम्मको वितरणतर्फको सञ्चित चुहावट अघिल्लो वर्षभन्दा २.८२ प्रतिशत बिन्दुले घटाएको हो । गत वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो ।
प्रणालीमा सबैभन्दा धेरै चुहावट वितरणतर्फ हुन्छ । प्राधिकरणले चालू आर्थिक वर्ष समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट बिलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गरे ।
यसैगरी प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको छ । मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १२.९९ प्रतिशत छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो ।
सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत् चुहावट रहेको छ । सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने ०.४८ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो ।
प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट २४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो ।
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडा मातहतको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत् चुहावट रहेको छ । बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौँ मातहतको सबैभन्दा धेरै सिन्धुपाल्चोक वितरण केन्द्रको ३१.९३ प्रतिशत चुहावट छ ।
प्रादेशिक कार्यालय बुटवल मातहत सबैभन्दा धेरै चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत देखिएको छ । गत वर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतको सबैभन्दा बढी विद्युत् चुहावट प्युठान वितरण केन्द्रको १९.४२ प्रतिशत छ ।
कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतको सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको २७.१३ प्रतिशत छ ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी अछाम वितरण केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत
पुगेको छ ।