माघ १३, २०७८ बिहिबार

गाईघाट, माघ १३ गते। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौतापोखरी क्षेत्रमा व्यापारीले लगानी बढाउन थालेका छन्। 

सडक स्तरोन्नतिले आन्तरिक र बाह्य पर्यटकको आउजाउ बाक्लो हुन थालेपछि त्यस क्षेत्रमा आकर्षक र सुविधासम्पन्न होटल बनाउन सुरु भएको हो। रौतामाई गाउँपालिका–६ मा रहेको रौतापोखरी हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।

रौतापोखरी क्षेत्रमा करिब दुई करोड २५ लाख रुपियाँको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ। गाईघाटका सरोजकुमार बस्नेत र बेलका नगरपालिका–७ रामपुरका शिव अधिकारीको लगानीमा ‘रौता दरबार माउन्टेन भ्यु रिसोर्ट’ निर्माण भएको हो।