चैत २, २०७७ सोमबार

काठमाडौं : मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा चौथो संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी १३ गतेदेखि २२ गतेसम्म आयोजन गर्न लागिएको बागमती गाउँपालिका खेलकुद विकास समितिले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

पालिकाको प्रमुख प्रायोजन र अन्य विभिन्न संघसंस्थाको सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद ८ लाख रुपैयाँसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । 

फापरबारीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ए डिभिजनका क्लव र मोफसलका टोलीसहित कुल १० टोलीको सहभागिता हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई ६ विधामा जनही १० हजारका दरले पुरस्कृत गरिनेछ ।

प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिइने बागमती खेलकुद विकास समितिका सचिवले जानकारी दिए । त्यस्तै प्रतियोगिताको लागि कुल ७७ लाख ४५ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ ।