चैत २, २०७७ सोमबार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मर्स्याङ्दीका स्टार अन्जन विष्ट मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्  ।

नेपाल सुपर लिगको फ्रेन्चाइज टोली ललितपुरले सोमबार अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । उनलाई ललितपुरले ५ लाख ५० हजारमा अनुबन्धित गरेको हो । ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

हाल मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका अन्जन नेपाली टिमका नियमित सदस्य हुन् । उनले एपीएफ क्लबबाट समेत खेलिसकेका छन् ।

ललितपुरसँग सम्झौता गरेपछि उनले आफु टिमबाट खेल्न आतुर रहेको बताए ।

'लिग खेल्न आतुर छु । टिम राम्रो गराउन प्रयास गर्छु । जित्ने लक्ष्य सहित तयारी गर्छौ । म आफ्नो शतप्रतिशत दिन्छु र पहिलो पटक हुन लागेको लिगलाई सफल गराउन सबैलाई लाग्न अपिल गर्छु,' अन्जनले भने ।