माघ १६, २०७८ आइतबार

सरकारी सञ्चार माध्यम गोरखापत्रबाट निकालिएका सञ्चारकर्मीहरूको पुनर्वहालीको विषयमा नेपाल पत्रकार महासंघले गोरखापत्र व्यवस्थापन पक्षसँग छलफल गरेको छ।

महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले निकालिएका पत्रकारहरूको पुनर्वहालीका विषयमा गोरखापत्र संस्थान संचालक समितिका अध्यक्ष र प्रधान सम्पादकसँग आज छलफल गरेको हो।

आस्थाका आधारमा कुनै पनि पत्रकारलाई कामबाट निकाल्न नहुने अडान राख्दै आएको महासंघले गोरखापत्रबाट निकालिएका संचारकर्मीको पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराएको छ।

छलफलमा अध्यक्ष पोखरेलले गोरखापत्रबाट निकालिएका पत्रकारहरूको पुनर्वहाली हुनुपर्ने अडान कायमै रहेको भन्दै तत्काल पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराए।

पत्रकारका विभिन्न पेशागत संघ संगठनका अध्यक्षहरूसमेत सहभागी छलफलमा सबैले आस्थाका आधारमा कुनै पनि संचार माध्यमले पत्रकारलाई निष्काशन गर्न नहुनेमा जोड दिए।

छलफलमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले गोरखापत्रबाट निकालिएका संचारकर्मीलाई तत्काल पुनर्वहाली गर्न व्यवस्थापन पक्षको ध्यानाकर्षणसमेत गराए।

छलफलमा गोरखापत्र संस्थान संचालक समितिका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले निकालिएका संचारकर्मीको पुनर्वहालीका लागि संस्था सकरात्मक रहेको बताए।

आवश्यक थप छलफल र प्रक्रिया पुर्‍याएर सक्रिय संचारकर्मीलाई पुनर्वहाली गरिने उनीहरूले आश्वासन दिए। छलफलमा महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य शिवराज खत्रीलगायत उपस्थित थिए।

गोरखापत्र संस्थानले निष्कृय रहेको भन्दै केही पहिलो २७ जना स्टेन्जर रिपोर्टरलाई कामबाट हटाएको थियो।