माघ १६, २०७८ आइतबार

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी भएको छ । काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बागमती नदी र सडकबीचको किनारमा दुबैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन समितिले सार्वजनिक सूचना जारी गरेको हो ।

समितिले शनिबार ती नदी किनारछेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दिने र अस्थायी संरचना हटाउन ३ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दा पनि नदी र सडकबीचको किनारमा अनधिकृत रूपमा बनेका अस्थायी तथा स्थायी संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए ।

‘दोस्रो चरणमा हामीले गुह्येश्वरीदेखि थापाथली पुलसम्म यस्ता प्रकृतिका संरचनाहरू, जुन सम्झौताविपरित छन् । सम्झौतामा मठमन्दिर, देवालयहरू छन् । धार्मिक स्थलहरू पनि छ । ती धार्मिक स्थलहरू, मठमन्दिर भन्दा, मूर्ति रहेका स्थान, स्तम्भ, पार्क भन्दा पनि अनाधिकृत रूपमा बनेका संरचनाहरू हटाउनका लागि हामीले फेरि हिजो सार्वजनिक सूचना प्रकाशित गरेका छौँ,' अर्यालले भने, '७ दिनमा स्थायी प्रकृतिका संरचनाहरू र तीन दिनमा अस्थायी प्रकृतिका संरचनाहरू हटाउन हामीले सूचना जारी गरेका छौँ ।'

आइतबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्यालले ती नदी किनारमा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको जानकारी दिए । नदी किनारका सुकुम्बासी बस्ती हटाउन उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको उनको भनाइ छ ।