माघ १६, २०७८ आइतबार

 नेपाल चेम्‍बर अफ कमर्शले कर्जाको ब्याजदर एकल अंकमा राख्‍ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । पुसमा बैंकहरूको आधारदर बढेपछि सबै बैंकको कर्जाको ब्याजदर दोहोरो अंकमा पुगेको छ ।

चेम्बरले दोहोरो अंकको आर्थिक वृद्धिका लागि एक अंकको ब्याजदर कायम गरेर लगानीयोग्य वातावरण बनाउनुपर्ने बताएको हो ।

ब्याजदर अस्वभाविक र अनियन्त्रित ढंगले बढ्दा नयाँ लगानी तथा ऋण लिएर उद्योग व्यवसाय गरेकालाई निकै समस्या भएको चेम्बर अफ कमर्सको ठहर छ ।

पछिल्लो समय तरलताको समस्या देखाएर ब्याजदर वृद्धि भइरहेका बेला चेम्बर अफ कमर्सले नियामक निकाय राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअघि राष्ट्र बैंकलाई सात बुँदे सुझाव दिने क्रममा चेम्बरले एकल ब्याजदर कायम गर्नुपर्ने  बताएको हो ।

आगामी दिनमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि एकल दरको ब्याजदरको व्यवस्था गर्न ढिलाइ गर्न नहुने चेम्बरको माग छ । गभर्नर महाप्रसाद अधिकारीलाई भर्चुअल रूपमा सुझाव दिने क्रममा यसअघि अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वृद्धि र स्थायित्वका लागि पनि एकल ब्याजदर कायम गर्न सुझाव दिएका थिए ।

रेमिट्यान्सको घट्दो आप्रवाहसँगै उपभोग र अनौपचारिक अर्थतन्त्रमा बढी खर्च भइरहेको सन्दर्भमा उक्त रकमलाई बैंकिङ च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न आवश्‍यक रहेको मल्‍लले बताए । यसको लागि पूर्वाधार विकास र जलविद्युत् विकास एवं कुल ग्राहस्त उत्पादन जीडीपीमा टेवा पुग्ने क्षेत्रमा कम्तिमा ५ देखि १० प्रतिशत लगानी गर्ने वतावरण बनाउन आवश्यक रहेकोमा उनको भनाइ छ ।

रेमिट्यान्समा १ प्रतिशत ब्याज थप गर्ने राष्ट्र बैंकको नीतिको चेम्बरले स्वागत पनि गरेको छ । यसले रेमिट्यान्सको आप्रवाह थप बढ्ने चेम्बरले उल्लेख गरेको छ ।