माघ १८, २०७८ मंगलबार

 नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १९ दशमलव २६ अंकले बढेर २८ सय ९१ दशमलव ३० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंकले बढेर पाँच सय ४२ दशमलव ९० अंकमा पुगेको छ ।

दुई सय २३ कम्पनीको ८० हजार आठ सय २९ पटकको कारोबारमा एक करोड २१ लाख ६७ हजार ६ सय पाँच कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कुल कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा नौवटाको सूचक बढेर चारवटा समूहको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव २४ अंकले बढेर १८ सय ४१ दशमलव चार अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ८१ दशमलव ५४ अंकले बढेर ५१ सय ४० दशमलव ३४ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक एक सय नौ दशमलव ९४ अंकले बढेर ३५ सय २० दशमलव ३४ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि ९१ दशमलव ८६ अंकले बढेर १३ हजार दुई सय दुई दशमलव ५५ अंकमा चढेको छ ।

यीबाहेक फाइनान्स, लघुवित्त, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् । जीवन बिमा समूहको सूचक भने १३ दशमलव ६ अंकले घटेर १६ हजार चार सय २१ दशमलव ९७ अंकमा झरेकामा ट्रेडिङ, होटेल तथा पर्यटन र उत्पादनमूलक समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज विन नेपाल लघुवित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १७ सय ८१ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेर १२ सय २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेसनल हाइड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय १७ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा ३९ करोड एक लाख ४१ हजार सात सय एक रुपैयाँ ६० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।