काठमाडौं : आगामी नव बर्ष २०७८ को सुरुवातसँगै नेपालमा पहिलो संस्करणको फ्रेन्चाइज सुपर लिग (एनएसएल) सुरु हुँदैछ ।
चौधरी ग्रुप, नेपाल स्पोर्ट्स तथा इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को संयुक्त आयोजनामा वैशाख ११ देखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ (एनएसएल) आयोजना हुने आइतबार काठमाडौंमा एक कार्यक्रममार्फत जानकारी दिइएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहने एनएसएलको पहिलो संस्करणका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । सन् २०१९ जनवरी १ तारीखमा एन्फा र एनएसईएमबीच २०७६ साल वैशाख-जेठमा एनएसएल आयोजना गर्ने गरी सम्झौता भएको थियो । तर त्यसको दुई वर्षपछि मात्र यो लिग सुरु हुन लागेको छ ।
पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग फुटबलमा लगानी गरेका टिम मालिकहरु पनि उत्साहित रहेका छन् ।
कुल ७ टोलीले प्रतिस्पर्धा गर्ने र सिंगल राउण्ड रोविन लिगको आधारमा प्रतियोगिता खेलाइने जनाएको छ । तर यसको खेलतालिका लगायत अन्य विवरण सार्वजनिक हुन बाँकी छ ।
कति टिम सहभागी छन् ?
काठमाडौंमा गत आइतबार आयोजित कार्यक्रममा एनएसएल खेल्ने सात टोली र टोलीका मालिकको नाम सार्वजनिक गरिएको थियो ।
जसअनुसार विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबले एनएसएल खेल्नेछन् ।
सबै टिम व्यवसायिक घरानाको स्वामित्वमा रहेको छ । आयोजकले सातवटै प्रदेशको प्रतिनिधित्व गरी टिम तयार पार्ने जनाएको थियो । तर पाँच वटा प्रदेशको ७ टिम घोषणा भएको छ । जसमा वाग्मती प्रदेशबाट तीन वटा टिम छन् भने प्रदेश २ र कर्णालीका टिम सहभागी छैनन् ।
क्लबले खेलाडी कसरी छनोट गर्न ?
बास्तबमा नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिगमा फुटबल खेलाडीको छनोट बोलकबोलबाट गरिन्छ । यसअघि नेपालमा क्रिकेटको खेलाडीको अक्सन भए पनि फुटबलमा अक्सन हुन लागेको पहिलो पटक हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग खेल्ने क्लबका उत्कृष्ट खेलाडी समावेश गरी अक्सनका लागि १४० खेलाडी उपलब्ध गराउनेछ । ती खेलाडीको अक्सनबाट टिमहरुले खेलाडी छनोट गर्नेछ ।
जसअनुसार खेलाडीहरुलाई ए, बी र सी गरी तीन समूहमा विभाजन गरिनेछ र त्यहीअनुसार उनीहरुको मूल्य राखिनेछ । यस्तै विदेशी खेलाडीको छुट्टै समूह हुनेछ । एउटा टिममा २० वा २१ खेलाडी हुनेछन् । जसमा ३ जना विदेशी खेलाडी राख्न पाउने प्राबधान रहेको छ ।
यस्तै मार्की खेलाडी पनि टिममा हुनेछन् । धनगढी एफसी र ललितपुर सिटी फुटबल एफसीले सोमबार नै आफ्नो मार्की खेलाडीको नाम सार्वजनिक गरी सकेका छन् ।
कति सम्म हुन्छ त खेलाडीको अधिकतम मूल्य
स्रोतका अनुसार विदेशी खेलाडीबाहेक एउटा फ्रेन्चाइज टिमले खेलाडीका लागि करिब १८ देखि २० लाखसम्म खर्च गर्नेछन् । जसमा एक खेलाडीको अधिकतम मूल्य २ लाख सम्म हुने चर्चा छ । र आयोजकले अहिलेसम्म यस प्रतियोगिताको पुरस्कार राशी भने सार्वजनिक गरेको छैन ।