चैत ३, २०७७ मंगलबार

काठमाडौं : जारी सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा समाज कल्याण खेलकुद केन्द्रले र सामाजिक युवा क्लबले विजयी सुरुवात गरेको छ ।

सातदोबाटो एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा सामाजिक युवा क्लबले स्वयम्भु युवा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । सामाजिकको जितमा बसन्त बहादुर रानाले ह्याट्रिक गोल गरे । भने स्वयम्भुका लागि महेश लामा र विवेक राईले एक एक गोल फर्काए । 

उक्त जितसँगै सामाजिकले पहिलो खेलमा ३ अंक जोडेको छ । यता पराजित स्वयम्भुले भने हारबाट लिगको सुरुवात गरेको छ ।

त्यस्तै दोस्रो खेलमा समाज कल्याणले सानो गौचरण युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै समाज कल्याणले सुखद सुरुवात गरेको हो । समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक एक गोल गरे । यता सानो गौचरणका उर्गेन लामा र रमण तामाङले एक एक गोल फर्काए ।

उक्त जितसँगै समाज कल्याणले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । यता पराजित सानो गौचरणले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।