सेयर बजारमा यो साता पनि निकै नै उतारचढाव आएको छ । नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुला थियो । जसमध्ये पहिलो र तेस्रो दिन नेप्से बढे पनि दोस्रो र पाँचौं दिन घटेको थियो । चौथो दिन भने सार्वजनिक बिदा परेकाले नेप्से बन्द थियो ।
बढेको दुई कार्य दिन पनि नेप्सेको बढाइमा निकै नै तलमाथि भएको थियो । एकै दिन एक सय पाँच अंकसम्मले नेप्से बढेको थियो । सोही आधारमा यो साता नेप्से २८ सय ७६ दशमलव ७४ अंकमा पुगेर रोकिँदा सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३९ दशमलव ६५ अंकमा पुगेको छ ।
सातामा दुई सय ३१ कम्पनीको तीन लाख ४० हजार ६ सय ७० पटकको कारोबारमा पाँच करोड दुई लाख नौ हजार चार सय १९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट यो साता कुल कारोबार रकम २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार दुई सय १७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा झन्डै दुई अर्ब रुपैयाँले कम हो ।
गत साता भने नेप्सेमा दुई सय ३३ कम्पनीको तीन लाख ८५ हजार ५३ पटकको कारोबारमा पाँच करोड ७५ लाख ८६ हजार ६ सय ९२ कित्ता सेयर खरिद–बिक्री भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार आठ सय चार रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुला थियो ।
यो साता पहिलो दिन एक सय पाँच दशमलव ५५ अंकले बढेर दुई हजार आठ सय ८५ दशमलव ५३ अंकमा पुग्न सफल भएको नेप्से अन्तिम दिन १४ दशमलव ६ अंकले ओरालो लागेर दुई हजार आठ सय ७६ दशमलव ७४ खुम्चिन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १९ दशमलव ८१ अंंकले बढेर पाँच सय ३८ दशमलव ५३ पुग्न सफल भएकामा अन्तिम दिन तीन दशमलव २५ अंंकले ओरालो लागेर पाँच सय ३९ दशमलव ६५ मै सीमित भएको थियो ।
यो साता एनआईसी एसिया बैंक, नबिल, बैंक, नेसनल हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् । नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।