माघ २१, २०७८ शुक्रबार

 अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी १५ जेठमा हुने तय भएको निर्वाचनका लागि समिति बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की छन् । निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको छ ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुइँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम छन् । उनीहरूको इन्ट्रीग्रिटी जाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ ।

यो निर्णय पछि फिफा र एएफसीमा पठाइनेछ । त्यस्तै बैठकले आर्थिक वर्ष २०७७-७८ मा १९औँ वार्षिक साधारणसभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगन भएको हुँदा उक्त अनुमोदित बजेटलाई २०७८(७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।